एआई र डिजिटल रूपान्तरण प्रवर्द्धनका लागि राष्ट्रिय योजना आयोगमा महत्वपूर्ण छलफल


नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, विश्वविद्यालयहरूमा डिजिटलाइजेसनको प्रवर्द्धन तथा कोइका सँगको सहकार्य र समन्वयमार्फत डिजिटल रूपान्तरणका कार्यक्रमहरू अगाडि बढाउने विषयमा मिति २०८३ साल वैशाख १६ गते राष्ट्रिय योजना आयोगमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

उक्त अवसरमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टज्यू र माननीय सदस्य प्रा. डा. सुदन झाज्यू समक्ष मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तज्यू र कोइका प्रतिनिधिहरूले आफ्नो धारणा तथा योजना प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा नेपाल सरकारद्वारा एआई कार्यान्वयनसम्बन्धी कार्यविधि तथा नीतिगत व्यवस्था निर्माण भएसँगै विश्वविद्यालयहरूमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन हुने र देशमा डिजिटल प्रणालीको विकासलाई तीव्र गतिमा अघि बढाउन सकिने विषयमा समेत विस्तृत छलफल भएको थियो।

साथै, कोइकाका प्रतिनिधिहरूले दक्षिण कोरियामा एआई प्रविधिको प्रभावकारी प्रयोगमार्फत नागरिकलाई सेवा प्रवाह कसरी गरिएको छ भन्ने अनुभव साझा गर्दै सो मोडेललाई नेपालमा कार्यान्वयन गर्न सकिने उपायहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो। यस पहलले नेपालका विश्वविद्यालयहरूलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्दै शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।



© 2026 Mid-West University | All Rights Reserved.